जेनजी आन्दोलनका क्रममा भएका आगजनी तथा तोडफोड घटनाको इन्सेक र मानव अधिकार आयोगद्वारा अनुगमन धनुषा ।

संताेष यादव ,

जेनजीको आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोड घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयले संयुक्त रुपमा भदौ २७ गते अनुगमन गरेको छ ।

अनुगमन टोलीमा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवान, मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख बुद्ध नारायण साहनी र इन्सेक धनुषा प्रतिनिधि सन्तोष कुमार यादव लगायतका मानव अधिकार रक्षकहरु रहेका छन् ।

अनुगमन टोलीले भन्सार कार्याल जनकपुर, सशस्त्र प्रहरी चौकी रेल्वे स्टशन, जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय धनुषा, कर कार्यालय जनकपुर, कृषि तथा सहकारी मन्त्रालय र मधेस प्रदेश सभामा पुगी घटना र क्षतिका बारेमा अनुगमन गरेका थिए ।

भन्सार कार्यालय जनकपुरका कार्यालय प्रमुख मानबहादुर पौडेलले भदौ २४ गते दिउँसो ३ बजेको समयमा आएका प्रदर्शनकारीले कार्यालयमा आगजनी, तोडफोड र कार्यालयका समानहरु लुटेर लगेको बताउनु भयो । तीन ओटा ट्रक, तीन ओटा नयाँ कार लगायत चार पाङ्ग्रे २० ओटा गाडी, ३ सय मोटरसाइकल, १२ सेट कम्प्युटर र २० ओटा अटो रिक्सा लगायत कार्यालयमा रहेका सबै सामग्री जलेर नष्ट भएको उहाँले बताउनु भयो ।

भन्सार कार्यालय छेउमै रहेको सशस्त्र प्रहरी कार्यालयमा समेत प्रदर्शनकारीहरुले आगजनी गरेका थिए । सशस्त्र प्रहरी कार्यालयमा सुरक्षार्थ रहेका प्रहरी सहायक हवल्दार सुजित कुमार यादवका अनुसार प्रहरी सहायक निरीक्षक जितेन्द्र नारायण मण्डलको कमाण्डमा सात जना सुरक्षकर्मी थियाँै, एक्कासी प्रदर्शनकारीले कार्यालयमा आगजनी र तोडफोड गर्न सुरु गरेको बताउनु भयो । प्रदर्शनकारीहरुले कार्यालयमा आगजनी गर्नुका साथै कार्यालयमा रहेको दुई ओटा जिप र चार ओटा मोटरसाइकलमा समेत आजगनी गरेको उहाँले जानकारी दिनु भयो ।

यसैगरी प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालय धनुषामा समेत आगजनी तथा तोडफोड गरेका थिए । जिल्ला प्रशासन कार्यालयका खरिदार अनिल कुमार मण्डलका अनुसार राष्ट्रिय परिचय पत्र शाखा र पासपोर्ट शाखामा आगजनी तथा तोडफोड गरेका छन् । तोडफोड र आजगनीका कारण कार्यालयमा रहेको कम्प्युटर र झ्यालका शिशा लगायत कागजातमा क्षति पुगेको उहाँले बताउनु भयो ।

कर कार्यालय, जनकपुरका सवारी चालक श्रवण राजवंशीले भदौ २४ गते साँझ ६ बजे प्रदर्शनकारीहरुले कार्यालयमा आगजनी र तोडफोड गर्न सुरु गरेको बताउनु भयो । प्रदर्शनकारीहरुले कर कार्यालयमा रहेको ज १ झ ३७६ नम्बरको पिकप भ्यान, ज १ झ ४०५ नम्बरको स्कारपियो, पाँच ओटा बाइक र कर कार्यालयको राजश्व सङ्कलन शाखा र फाइल भण्डार शाखामा आगजनी गरी जलाएको उहाँले बताउनु भयो ।

प्रदर्शनकारीहरुले भदौ २४ गते दिउँसो २ बजे मधेस प्रदेश सभा भवनमा तोडफोड तथा आगजनी कारण प्रदेश सभामा रहेको सबै सामग्रीहरु जलेर नष्ट भएका छन् ।

जनकपुरको मुरलीचोकमा रहेको कृषि तथा सहकारी मन्त्रालयमा समेत प्रदर्शनकारीहरुले आगजनी र तोडफोड गरेका छन् । मन्त्रालयका सुरक्षा गार्ड रामएकवाल भण्डारीका अनुसार भदौ २४ गते दिउँसो १ बजेको समयमा सयौँको सङ्ख्यामा रहेका प्रदर्शनकारीहरु गेटको ताल्चा फोडेर मन्त्रालयका तीन ओटा चार पाङ्ग्रे गाडी र सात ओटा मोटरसाइकलमा आगजनी गरेका थिए ।

त्यसैगरी प्रदर्शनकारीहरुले जनकपुरधाम उपमहानगरपालिकामा समेत आगजनी गरेका छन् । दुई ओटा बारुण यन्त्र, एक ओटा एम्बुलेन्स, दुई ओटा ट्रक र एक ओटा भ्यानमा आगजनी गरिएको छ । प्रदर्शनकारीहरुले जकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा आगजनी गर्दा कार्यालयभित्र राखिएको करिब २ सय सिलिण्डर ग्याँस पड्किएर भवनलाई क्षतविक्षत बनाउनुका साथै कार्यालयमा रहेको सबै सामग्रीहरु जलेर नष्ट भएको जनकपुरधाम उपमहानगरपालिकाका न्यायिक समितिका कानुनी सल्लाहकार मन्सुर राइनले बताउनु भयो ।

प्रकाशित मिति: २०२५-०९-१६ , समय : १९:४५:३१ , ५ घन्टा अगाडि