बस आगलागीमा मृत्यु भएका चालक अर्जुन दोङ भएको पुष्टि

नयाँ आशा एफएम ,

काठमाडौँ । त्रिपुरेश्वरमा बसमा आगो लगाउँदा मृत्यु भएका चालकको पहिचान खुलेको छ। मृत्यु हुने व्यक्ति मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीका २५ वर्षीय अर्जुन दोङभएको पुष्टि भएको हो।

गाउँपालिकाकी उपाध्यक्ष उमा ब्लोनका अनुसार अर्जुनले काठमाडौंमा अरूको बस चलाएर परिवार पाल्दै आएका थिए। आगलागी भएको बस भने उनको आफ्नै नभएको खुलेको छ।

वडाध्यक्ष प्रताप ब्लोनका अनुसार अर्जुनले अरूको लाइसेन्स प्रयोग गरेर सवारी चलाउने गरेको परिवारले बताएका छन्। उनको नागरिकता बनेको प्रमाणसमेत नभेटिएपछि जन्मदर्तालगायत कागजात लिएर परिवारका सदस्य काठमाडौं आएका छन्।

अर्जुनका श्रीमती र पाँच वर्षीय छोरा छन्। सोमबार दिउँसो त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाने बस स्ट्यान्डमा रोकिएको रिद्धिसिद्धि यातायातको बा५ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो।

प्रकाशित मिति: २०२६-०९-२२ , समय : १२:०७:११ , १ घन्टा अगाडि