जनकपुरधाममा मानव अधिकार रक्षकहरुद्वारा शान्ति र्र्याली ।

सन्तोष कुमार यादव ,

जनकपुरधाम । राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशको आयोजना र मानव अधिकार रक्षक सञ्जाल मधेस प्रदेशको सहकार्यमा ०८२ असोज १ गते दिउँसो जनकपुरधाममा शान्ति र्र्यालीको आयोजना गरिएको छ ।

जेनजि आन्दोलनमा मृत्युबरण गर्नु हुने सबैमा हार्दिक श्रद्धाञ्जली गर्दै मुलुकमा शान्ति र सुव्यवस्था कायम गरी मानव अधिकार संरक्षण र सम्मान गरिनुपर्ने उद्देश्यका साथ रमानन्द चोकबाट सुरु गरिएको शान्ति र्र्याली बाह्र विघहा, जानकी चोक हुँदै जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख तथा सहचिव बुद्धनारायण साहनीले मानव जीवनको मूल्य र अधिकारको संरक्षणका लागि सबै तह प्रतिबद्ध हुनुपर्ने बताउनु भयो । मानव अधिकारको लागि शान्ति अपरिहार्य तत्व रहेको वहाँले उल्लेख गर्नु हुँदै यसका लागि सबैले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रम सञ्चालन गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक तथा मानव अधिकार रक्षक सञ्जाल मधेस प्रदेशका अध्यक्ष राजु पासवानले मानव अधिकार, शान्ति र न्यायको पक्षमा सहकार्य गर्दै सबै पक्ष अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । संयोजक पासवानले जेनजि आन्दोलनमा मृत्युबरण गरेका सबै सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइते सबैको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको थियो ।

कोण सभा पश्चात शान्ति र्र्यालीमा सहभागी सबै जनाले जनक चोकमा दीप प्रोज्वलन गर्दै जेनजि आन्दोलनका क्रममा मृत्यु भएका सबै सहिदहरु प्रति एक मिनेट मौन धारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ, महिला मानव अधिकार रक्षक सञ्जाल, नागरिक समाज र मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यस शान्ति र्र्यालीले शान्तिपूर्ण समाज निर्माण, मानव अधिकारको सम्मान र सुशासनको आवश्यकता पुनः उजागर गरिएको सहभागीहरूले बताएका छन् ।

प्रकाशित मिति: २०२५-०९-१८ , समय : ११:५५:१३ , १ घन्टा अगाडि