नयाँ आशा एफएम ,
www.nayaasha.com
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो एक बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा एक बजे बस्न लागेको हो ।
प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्
यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
त्यस्तै, बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
यसैगरी राष्ट्रियसभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यक्रम छ ।
बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री चौधरीले ‘सङ्क्रामक पुश रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
यस्तै, आजै कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्दैछ ।
प्रकाशित मिति: २०२६-०९-२१ , समय : ०८:०७:०६ , १ घन्टा अगाडि