अबेर साँझ मुख्यमन्त्री सिँहले गरे सिरहाको सरकारी अस्पताल अनुगमन

नयाँ आशा एफएम ,

जनकपुरधाम, ४ वैशाख । मुख्यमन्त्री सतिशकुमार सिँहले प्रादेशिक अस्पताल सिरहाको अनुगमन निरीक्षण गरेका छन् । बिहीबार अबेर साँझ सो अस्पताल पुगेर उनले त्यहाँबाट प्रदान गरिने सेवासुविधाका विषयमा जानकारी लिएका छन् ।
अस्पतालको आकस्मिक कक्षलगायत विभिन्न विभागमा उपलब्ध जनशक्ति, औषधिउपकरणको उपलब्धता र चिकीत्सकीय सेवाका लागि अपनाइने तत्परता र गुणवत्ता समेतको जानकारी मुख्यमन्त्री सिँहले लिएका छन् ।
अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री सिँहले अस्पतालका सेवासुविधाको प्रभावकारिता वृद्धि र सेवा तथा संरचना विस्तार गर्न प्रदेश सरकारले आवश्यकताअनुसार बजेट विनियोजन गर्ने बताए ।
उनले सिरहा अस्पतालको सेवाक्षेत्रले ठूलो जनसँख्या ओगटेको भन्दै अस्पतालका कमीकमजोरी औँल्याएर सुधार गरिने प्रतिबद्धता व्यक्त गरे । उनले देश र प्रदेशको अर्थतन्त्र अनुकूल नभएको र प्रदेशको अर्थतन्त्र थप कमजोर रहेका बेला आठवटै जिल्लाका स्वास्थ्य संस्थाका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्नुपर्ने अवस्था रहेको भन्दै सिरहास्थित प्रादेशिक अस्पतालका लागि ठूलै रकम विनियोजन गर्न नसकिए पनि आवश्यकताअनुसार बजेट उपलब्ध गराउँदै जाने उल्लेख गरे ।
उनले अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको जनशक्ति तत्काल प्रदेश स्वास्थ्य निर्देशनालय र क्रमिक रूपमा अन्य प्रक्रियाबाट समेत व्यवस्थापन गरिने बताए ।
मुख्यमन्त्री सिँहले अस्पतालको सरसफाइ लगायतका आधारभूत व्यवस्थापनमा अस्पताल प्रशासनसँगै नागरिकले समेत आफ्नो जिम्मेवारी पुरा गर्नुपर्नेमा जोड दिए । उनले एक बिरामीमा धेरै कुरुवा हुँदा समेत समस्या सिर्जना हुने भन्दै त्यसतर्फ बिरामीका आफन्ताई पनि सजगता अपनाउनुपर्ने आग्रह गरे ।

प्रकाशित मिति: २०२५-०४-१७ , समय : २३:४२:२५ , २ हप्ता अगाडि