Naya Aashafm.com ,

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार मधेस आउँदैछन् । उनी आज बारा र महोत्तरी जान लागेको सामाजिक सञ्जाल फेसबुकमार्फत् बताएका हुन्।‘दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ। हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ। आज महोत्तरी र बारा जाँदै छु। तराई–मधेसमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ। आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ,’ उनले भनेका छन्।
देशव्यापी मनसुनी वायुको प्रभाव कमजोर हुँदा पर्याप्त वर्षा भएको छैन। मधेसमा त झन् वर्षा भएको छैन। पानी नपरेकाले मधेसमा ४० प्रतिशत पनि रोपाइँ भएको छैन। रोपाइँ नहुँदा धानको उत्पादन घट्ने विज्ञहरूले बताएका छन्। सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र पनि घोषणा गरेको छ।
प्रधानमन्त्री ओलीको सचिवायलयका अनुसार प्रधानमन्त्री ओली बिहान साढे १० बजे महोत्तरी पुग्नेछन्।
बिहान ११ बजे मटिहानी नगरपालिकाको विग्ही नदीमा बनेको पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको साथमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि सो कार्यक्रममा अतिथीको रुपमा सहभागी हुनेछन्।
सोही नगरपालिकामा निर्माण भएको प्रसुती गृहको उद्घाटन र त्यहाँ आयोजित सभालाई प्रधानमन्त्रीले मध्यान्ह १२ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीले आजै दिउसो १।४० बजे जनकपुर(कुर्था(सम्सी सडक खण्डको रौजा स्थित रातुखोला पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
त्यस्तै दिउँसो २ बजे बाराको परवानीपुर गाउँपालिकाको नवर्मित प्रशासकीय भवन उद्घाटन गर्नेछन् भने दिउँसो ३ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओलीले सुख्खाग्रस्त मधेसको स्थलगत निरीक्षण र मधेसका किसानसँग भेटघाट गरेर उनीहरुका समस्या सुन्ने कार्यक्रम रहेको छ।
प्रकाशित मिति: २०२५-०७-२५ , समय : १०:०९:०० , २ महिना अगाडि