पुरुषोत्तम यादव ,

जनकपुरधाम । नेकपा एमाले धनुषा जिल्ला अध्यक्षमा भोला यादव प्यानलसहित निर्वाचित भएका छन् ।
भोला यादवले २ सय २ मतको फराकिलो अन्तरले विजयी हासिल गर्दै धनुषा अध्यक्ष भएका हुन् । किसानबाट राजनीतिक सुरुवात गरेका भोला लक्ष्मीनियाँ गाउँपालिका–५ बनिनिया निवासी हुन् । उनी एमालेमा लामो समयदेखि सक्रिय छन् । हालसम्म लाभको पदमा जाने अवसर नपाएको भोलाले जिल्ला अध्यक्षमा पहिलो पटक प्रतिस्पर्धा गरेका हुन् । उनी आफ्ना प्रतिद्धन्दीभन्दा झण्डै दुई तिहाई बढी मत प्राप्त गरेका हुन् । भोलाको सालिन स्वभावलाई विपक्षीले पनि मन पराएका छन् ।
नेकपा एमाले केन्द्रीय सचिव रघुवीर महासेठ र पूर्वमन्त्री जुली कुमारी महतोको प्यानलबाट उम्मेदवारी दिएका भोलाले ४ सय २ मत प्राप्त गरेका हुन् ।
भोलाले ४०२ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी लक्ष्मीनारायण यादवलाई २०२ मतको फराकिलो अन्तरले पराजित गरेका छन् ।
नेकपा एमाले धनुषा जिल्ला कमिटीको आठौं अधिवेशनबाट महासेठ पक्षधर भोला यादवको नेतृत्वको सिंगो प्यानल नै विजयी भएका छन् ।
लक्ष्मीनारायण यादव एमालेलाई केन्द्रीय सदस्य उपमाशंकर अरगरिया र सभामुख रामचन्द्र मण्डलको समर्थन थियो । लक्ष्मीनारायणले पनि प्यानल नै खडा गरेर उम्मेदवारी दिएका थिए ।
अन्य पदमा पनि भोला यादवको प्यानलका उम्मेदवारहरू विजयी भएका छन् । उपाध्यक्षमा तेजनारायण यादवले ४३० मत ल्याएर जयप्रकाश सुनरैतलाई भारी अन्तरले पराजित गरेका छन् । सुनरैतले १ सय ६० मत प्राप्त गरे । सचिवमा दीपनारायण ठाकुर ३६५ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी धिरेन्द्र मण्डलले २२५ मत पाए ।
त्यस्तै, उपसचिव पदमा सबिन विक्रम थापा ३८० मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी हरिकिशोर यादवले १९५ मत प्राप्त गरे । महिला उपसचिवमा रुका कुमारी मिश्रले ३९१ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्दी किरण कापरले १८४ मत प्राप्त गरिन् । लेखा समिति संयोजकमा वीरेन्द्रलाल कर्णले ३६५ मत प्राप्त गर्दै अनिलकुमार भगत पराजित गरेका छन्
१३५ सदस्यीय नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा जिल्ला भरिबाट ६२८ प्रतिनिधिहरू सहभागी थिए । वैशाख २३ गते झडप भएपछि मतदान स्थगित गरिएको थियो । जेठ ७ गते बुधबार मतदान भएको थियो । मतगणनामा पटक पटक बखेडा हुँदा परिणाम शुक्रबार बिहान मात्र सार्वजनिक हुन सकेको हो ।
प्रकाशित मिति: २०२५-०५-२३ , समय : १६:२२:१२ , ३ हप्ता अगाडि