राष्ट्रिय सभाका उपाध्यक्षसहित सातै प्रदेशका उपसभामुखलाई मुख्यमन्त्री सिंहले गरे स्वागत

पुरुषोत्तम यादव ,

जनकपुरधाम ४ बैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेसहित सात वटै प्रदेशका उपसभामुखहरूलाई आफ्नो कार्यकक्षमा स्वागत तथा सम्मान गरेका छन् ।

बिहीबार साँझ मुख्यमन्त्री सिंहले उनीहरूलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा खादा लगाएर स्वागत तथा सम्मान गरेका हुन् ।

उपसभामुखहरूको भूमिकालाई थप प्रभावकारी र फराकिलो तुल्याउने उद्देश्यले बिहीबार जनकपुरमा आयोजना गरिएको सम्मेलनमा उनीहरूले आ–आफ्नो अनुभव साटासाट गरेका हुन् ।

संसदीय अभ्यासमा उपसभामुखहरूको भूमिका तथा नीतिगत सुधारका सवालहरूका विषयमा सात वटै प्रदेशका उपसभामुखहरूले आ–आफ्नो धारणा र अनुभव सुनाएका थिए ।

राष्ट्रिय सभाका माननीय उपाध्यक्ष विमला घिमिरेले उद्घाटन गरेको सम्मेलनमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, मधेश प्रदेशकी उपसभामुख बबिता कुमारी राउत ईशरसहित सातै प्रदेशका उपसभामुख तथा संविधानविद् काशीराज दहालले आफ्ना धारणा राखेका थिए ।

उपसभामुखहरूले प्रदेश सभामा आफूले खेलेको भूमिकाप्रति सन्तुष्टि व्यक्त गरेका थिए । प्रदेश सभामा आफ्नो भूमिकालाई थप सशक्त र मजबुत बनाउन, विभिन्न राजनीति दलसँगको समन्वयलाई प्रभावकारी बनाउनु पर्नेमा उपसभामुखहरूले जोड दिएका थिए ।

सात बुँदे जनकपुर घोषणापत्र २०८२ समेत जारी गर्दै सम्मेलन सम्पन्न भएको छ ।

प्रकाशित मिति: २०२५-०४-१७ , समय : २१:१३:२३ , २ हप्ता अगाडि

सम्बन्धित