रौतहटको १० निजी अस्पतालमा मुख्यमन्त्री सिँहको अनुगमन, १० वटै अस्पताल बन्द गर्न निर्देशन

नयाँ आशा एफएम ,

जनकपुरधाम, २२ फागुन । रौतहटको गरुडा नगरपालिकामा अनाधिकृत तवरले सञ्चालित १० वटा निजी अस्पताललाई मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले बन्द गर्न निर्देशन दिएका छन् । विहिबार मुख्यमन्त्री सिँहले त्यहाँस्थित निजी अस्पताल अनुगमनक्रममा सबै १० वटा अस्पताल वैध ढङ्गले सञ्चालन नभएका पाएपछि अस्पताल बन्द गर्ने निर्देशन सञ्चालकहरूलाई दिएका छन् ।

मुख्यमन्त्री सिँहले बन्द गर्न निनर्देशन दिएका नौवटा अस्पताल गरुडा नगरपालिका वडा नम्बर ४ मा र एक अस्पताल वडा नम्बर ५ का छन् । प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोष ठाकुरका अनुसार गरुडा नगरपालिका वडा नम्बर ४ का अरुण सिटी हस्पिटल प्रालि, अनामिका हस्पिटल प्रालि, श्री नेत्रज्योति आँखा हस्पिटल प्रालि, श्री गौर आँखा अस्पताल, श्री गरुडा अस्पताल प्रालि, रोमा हस्पिटल प्रालि, होप हस्पिटल प्रालि, सनसिटी हस्पिटल प्रालि र श्री सरस्वती हस्पिटल प्रालि तथा गरुडा नगरपालिका वडा नम्बर ५ स्थित आनन्द हस्पिटल प्रालिलाई मुख्यमन्त्री सिँहले बन्द गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले सेवा सञ्चालन अनुमति नलिएका, त्यस्तो अनुमति लिए पनि चार–पाँच वर्षयता नवीकरण नगराएका र कानुनी प्रावधानविपरीत निर्धारित सँख्याभन्दा बढी शय्याको अस्पताल सेवा सञ्चालन अनुमति स्थानीय तहबाट प्राप्त गरेका प्रकृतिका ती अस्पताललाई प्रदेश सरकार प्रमुख सिँहले बन्द गर्न निर्देशन दिएको जानकारी दिए ।

जनस्वास्थ्य नियमावली २०७७ अनुसार मापदण्ड पुरा नगरी सञ्चालनमा आएका ती अस्पताललाई बन्द गर्न अनुगमन टोलीले अनुगमनक्रममै पत्र दिएको छ ।

अनुगमनक्रममा बन्द गर्न निर्देशन दिइएको आनन्द हस्पिटल प्रालिले स्थानीय तहबाट चालू आर्थिक वर्षमै २५ शय्याको अस्पताल सेवा सञ्चालन स्वीकृति लिएको छ । कानुनअनुसार स्थानीय तहले १५ शय्यासम्मको अस्पताल सेवा सञ्चालन स्वीकृति दिन सक्छ ।

२५ शय्यादेखि दुई सयसम्म प्रदेश सरकारले र दुई सय शय्याभन्दा माथि सङ्घ सरकारले अस्पताल सेवा सञ्चालन स्वीकृति दिने व्यवस्था छ । स्थानीय तहलाई विशिष्टीकृत अस्पतालको सेवा सञ्चालन अनुमति दिने अधिकार छैन । “तर, कानुनविपरीत कतिपय स्थानीय तहले अधिकार क्षेत्रभन्दा बाहिर गएर तोकिएको १५ शय्याभन्दा बढी क्षमता र विषयगत अस्पताल सञ्चालन अनुमति दिएको अनुगमनक्रममा मुख्यमन्त्रीज्यूले पाउनुभएको छ । यस्तो अनुमति अवैध हो । त्यसैले मुख्यमन्त्रीज्यूले त्यस्ता अस्पताललाई बन्द गरी कानुनअनुसार विधिसम्मत ढङ्गले अनुमति लिएर मात्र अस्पताल सञ्चालन गर्न निर्देशन दिनुभएको हो,” मुख्यमन्त्री सिँहका प्रेस सल्लाहकार कर्णले भने ।

प्रकाशित मिति: २०२५-०३-०६ , समय : २२:३१:०० , २ हप्ता अगाडि

सम्बन्धित