Naya Aasha ,
सुन काण्ड जाँचबुझ गर्न उच्चस्तरीय छानबिन समिति बनाउनेबारे उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रमुख प्रतिपक्षी दल एमालेसँग छलफल गरेका छन्।
गृह मन्त्रालयमा जारी छलफलमा एमाले, माओवादी केन्द्रका प्रमुख सचेतक र सचेतकहरू रहेको बताइएको छ।
सरकार, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत ७ राजनीतिक दलबीच असोज ५ गते सुन काण्डहरू छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति भएको थियो।
गत भदौ ६ मा उक्त सहमति भएपछि प्रमुख प्रतिपक्षी दल एमाले साउन १० गतेदेखि गर्दै आएको संसद्को अवरोध खुलाउन तयार भएको थियो। साउन २ गते त्रिभुवन विमानस्थलबाहिर समातिएको ६० किलो बढी र इलेक्ट्रिक चुरोटमा लुकाएर तस्करी भएको सुनमा सरकारकै संलग्नता देखिएको भन्दै एमालेले उच्चस्तरीय जाँचबुझ समितिको माग गरेको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सकेर अभियोजन गरेपछि जाँचबुझ समिति बनाउने गरी भदौ ६ गते सहमति भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विदेश भ्रमणमा रहेकाले आज मन्त्रिपरिषद्को बैठक बस्दैन। तत्काल उच्चस्तरीय छानबिन समिति बनाउने सम्भावना नरहेको एक मन्त्रीले जानकारी दिए।
सरकारले संसद्लाई समेत जानकारी गराएको विषय कार्यान्वयन नगरे बेइमान ठहरिने एमालेले बताउँदै आएको छ।
‘आयोगमा को-को रहने, कसरी निर्माण गर्ने र त्यसको कार्यादेश के हुने भनेर समय राखेका थियौं, सरकारले इमान जमानका साथ संसद्मा उभिएर सरकारका उपप्रधानमन्त्रीज्यूले जस्ताको तस्तै विषयवस्तु र सहमति पढ्नु भएको हो। त्यो कार्यान्वयन गर्नुपर्ने हुन्छ। उच्चस्तरीय समिति असोज ५ गते घोषणा हुने छ। घोषणा हुँदैन भने सरकार छलकपटमा, प्रतिपक्षीलाई अनावश्यक हिसाबले गलाउने र संसदबाट गरेको प्रतिबद्धतालाई पूरा नगर्नेतर्फ लानका लागि उद्यत छ र सुन तस्करहरूलाई कुनै न कुनै रूपबाट बचाउन सरकार लागिरहेको छ भन्ने कुरा त्यसले प्रमाणित हुन्छ। त्यतातर्फ मुलुक नजाओस् भन्नका लागि सरकारलाई सचेत गराउन चाहन्छौं,’ एमाले सचेतक बर्तौलाले भने।
उनले प्रधानमन्त्री देशभित्र भए/नभएको कुराले सकारको काममा असर नपर्ने बताए।
‘प्रधानमन्त्री देशमा हुनुहुन्छ, हुनुहुन्न भन्ने कारणले गर्दा देशमा सरकार छ छैन भन्ने कुरा हुँदैन। सरकार छ, नेपालमा सरकार छ, सरकारले गरेको प्रतिबद्धताअनुरूप नेपाल सरकारले पूरा गर्नुपर्छ,’ उनले भने, ‘भदौ ६ गते असोजको ५ गते उच्चस्तरीय समिति बनाउने भन्ने सहमति भएको हो। त्यो आउनुपर्छ, प्रधानमन्त्री कहाँ हुनुहुन्छ बिरामी हुनुहोला, विदेश भ्रमणमा जानु भएको होला त्यो उहाँको तालिकाकाको कुरा हो। उहाँको अनुपस्थितिमा उहाँले कार्यभार दिएर जानुभएको छ। त्यसकारण आज पनि देश प्रधानमन्त्रीविहीन छैन। प्रधानमन्त्रीसहितको देश छ। सरकार छ, त्यो सरकारले आवश्यक गृहकार्य गरेको हुनुपर्छ।’
सरकारको गृहकार्यबारे जानकारी गराउन गृहमन्त्रीले एमालेले छलफलमा बोलाएका हुन्।
प्रकाशित मिति: २०२३-०९-२२ , समय : १९:३२:३७ , १ वर्ष अगाडि