साउने मेलाको भव्य तयारीः कपिलेश्वरनाथ मन्दिर जनकपुरधाम वडा नम्बर १६ मा

पुरुषाेतम यादव ,

जनकपुरधाम २५ असार । धार्मिक आस्था, ऐतिहासिक पहिचान र सांस्कृतिक गौरवको केन्द्र बनेको कपिलेश्वरनाथ मन्दिरमा यस वर्षको साउने मेला भव्य रुपमा आयोजना हुँदैछ । त्रेतायुगीन परम्परालाई बोकेको यो पवित्र स्थलमा साउन महिनाको प्रत्येक सोमबार लाखौं श्रद्धालुहरूको आवागमन हुन्छ, जसले यहाँको आध्यात्मिक ऊर्जा र शिव–भक्तिको अनुपम दृश्य प्रस्तुत गर्छ ।

यस वर्षको मेला असार ३० गते सोमबारदेखि सुरु हुँदैछ । कपिलेश्वरनाथ युवा कमिटीले बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै यसपालिको मेला विगतका वर्षभन्दा भिन्न, भव्य र व्यवस्थित हुने दाबी गरेको छ ।
कमिटी अध्यक्ष मनोज साहका अनुसार, “कपिलेश्वरनाथ बाबा यहाँ दर्शन दिने साक्षात् भोलेनाथ हुन् । श्रद्धा र निष्ठापूर्वक मन्नत माग्ने भक्तजनहरूको मनोकामना यहाँ पूरा हुन्छ भन्ने दृढ विश्वासका कारण दिनप्रतिदिन यहाँको महिमा फैलिँदै गएको छ।”
जनकपुरधाम उपमहानगरपालिका वडा नं। १६ कपिलेश्वरमा कपिलेश्वनाथ मन्दिर पर्दछ । जानकी मन्दिरदेखि करीब १ किलोमिटरको दुरीमा यो मन्दिर रहेको छ । जानकी मन्दिर दर्शन गर्न आउने श्रद्धालुहरु एक पटक कपिलेश्वरनाथ मन्दिर दर्शन गर्न आवश्यक आउने गरेको कपिलेश्वरनाथ मन्दिरका पूर्व अध्यक्ष सुधिर पजियार बताउँछन् ।

कपिलेश्वरनाथ मन्दिरको आध्यात्मिक महिमा
कपिलेश्वरनाथ मन्दिरलाई मिथिला क्षेत्रको काशी मानिन्छ । धार्मिक ग्रन्थ र पुराणीय परम्पराअनुसार ८जनकवंशी राजा शिरध्वज ९राजा जनक० ले जनकपुर क्षेत्रको चारै दिशामा चार शिव मन्दिरको स्थापना गरेका थिए—पूर्वमा कपिलेश्वरनाथ, पश्चिममा अर्जुनेश्वरनाथ, उत्तरमा कुन्डलेश्वरनाथ र दक्षिणमा गिरीजेश्वरनाथ।
यी मन्दिरहरू मध्ये कपिलेश्वरनाथ सबैभन्दा प्रमुख र शक्तिशाली मानिन्छ, जसको सन्दर्भ कपिल मुनिको तपोभूमिसँग समेत जोडिन्छ । मान्यता अनुसार, यही स्थानमा कपिल मुनिले दीर्घकालीन तपस्या गरेका थिए, र यहीँ महादेव प्रकट भई शिवलिङ्गको रूपमा स्थापित भएका थिए ।
मन्दिर परिसरमा भगवान शिवसँगै राम–जानकी, शिव–पार्वती, हनुमानजी, गणेश, र संतोषी माँको भव्य प्रतिमा स्थापना गरिएको छ । पाँच कठा क्षेत्रफलमा फैलिएको मन्दिर क्षेत्र पवित्रता र शान्तिको प्रतीक हो । यहाँको हावा, धूलो र माटो समेत भक्तजनका लागि पावन मानिन्छ ।

मेलाको तयारीः सेवा र श्रद्धाको समर्पण
मेलामा आउने श्रद्धालुहरूको सुविधाका लागि विशेष व्यवस्थाहरू मिलाइएको छ । बास, भोजन, स्वास्थ्य सेवा, शुद्ध पेयजल, ट्राफिक व्यवस्था लगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष साहले जानकारी दिए ।
जनकपुरधाम, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, भारतको सीमावर्ती जिल्लाहरू—सीतामढ़ी, दरभंगा, मधुबनी लगायतबाट हजारौं श्रद्धालुहरूको आगमन हुने अनुमान गरिएको छ । काँवर यात्रा गर्ने भक्तहरूको लागि विश्राम स्थल र जल अर्पणको पनि व्यवस्था गरिएको छ ।
साउन महिनाभर मन्दिर परिसरमा धार्मिक पूजाआजा, विशेष आरती, भजन कीर्तन, साँस्कृतिक कार्यक्रम जस्ता कार्यक्रमहरूको आयोजना हुनेछ, जसले सिंगो मिथिला क्षेत्रलाई शिवमय बनाउनेछ ।

मन्दिर पुनर्निर्माणको कथाः भक्तिको अमिट इतिहास
बि।सं। १९९० को विनाशकारी भूकम्पमा कपिलेश्वरनाथ मन्दिर ढलेपछि यहाँ आएका काँवरिया विष्णुगिरीले मन्दिर पुनर्निर्माणको संकल्प लिएका थिए । यद्यपि उनी फर्केर आएनन्, तर उनको प्रेरणाले स्थानीय यज्ञप्रसादले पुरातत्व विभागसँग समन्वय गरी बि।सं। २०३९ मा नयाँ मन्दिरको निर्माण गराएका थिए ।
पुनःस्थापित शिवलिङ्ग र भक्तजनहरूको सतत् सेवा र विश्वासले यो मन्दिर आज सिंगो मिथिलाको गौरव बनेको छ ।

शिवत्वको अनुभूति गर्न कपिलेश्वर आइपुग्नुहोस्
कमिटीले सबै शिवभक्त, पर्यटक र धार्मिक जिज्ञासुहरूलाई साउन महिनाको अवसरमा मन्दिरमा दर्शन गर्न आमन्त्रण गरेको छ ।
अध्यक्ष साह भन्छन्, “कपिलेश्वरनाथ बाबा मिथिलाको आत्मा हुन् । यहाँको माटोमा शान्ति, जलमा कृपा र वायुमण्डलमा शिवत्व घुलिएको छ । आउनुहोस्, यस साउन कपिलेश्वरको दर्शन गरी आत्मा शुद्ध बनाऔं ।”
पत्रकार सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्ष रामचन्द्र पजियार कमिटीका प्रेस सल्लाहकार तथा वरिष्ठ पत्रकार श्रीनारायण साह सहितका व्यक्तिहरुले पत्रकार धार्मिक एवं ऐतिहासिक महत्वको बारेमा ब्याख्या गरेका छन् ।

प्रकाशित मिति: २०२५-०७-०९ , समय : १२:१८:२७ , ३ दिन अगाडि