तस्कर र सशस्त्र प्रहरीबीच धनुषामा भिडन्त, १४ राउन्ड गोली प्रहार, ३ जना प्रहरी घाइते

नयाँ आशा एफएम ,

जनकपुरधाम : धनुषाको बिदेह नगरपालिका–२, दुहबी नाकामा बिहीबार साँझ तस्कर र सशस्त्र प्रहरीबीच भिडन्त भएको छ। नेपाल–भारत सीमाको दशगजामा तस्करी नियन्त्रण प्रयासका क्रममा सुरक्षाकर्मीमाथि आक्रमण भएपछि सशस्त्र प्रहरीले १४ राउन्ड गोली चलाएको हो।

सशस्त्र प्रहरीले चलाएको १४ राउन्ड गोलीमध्ये ९ राउन्ड आश्रुग्यास र ५ राउन्ड जंगी रहेको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। भिडन्तमा एक जना असई (सहायक निरीक्षक) को खुट्टामा भाला घोचिएको छ भने अन्य दुई जना प्रहरी पनि घाइते भएका छन्।

प्रहरीले तस्कर समूहको नियन्त्रणमा रहेका सामग्री नियन्त्रणमा लिन खोज्दा उनीहरूले आक्रमण सुरु गरेको र आत्मरक्षाका लागि गोली चलाइएको सशस्त्र स्रोतको भनाइ छ।

घाइते प्रहरीहरूको उपचार भइरहेको छ भने तस्करहरू फरार रहेको जनाइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताए ।

प्रकाशित मिति: २०२५-०७-०४ , समय : ०९:२८:३८ , १८ घन्टा अगाडि