नयाँ आशा एफएम ,
www.nayaasha.com
जनकपुरधाम : नेपाली कांग्रेसको १५औँ नगर अधिवेशनअन्तर्गत धनुषाको कमला नगरपालिकाको नगर सभापति पदमा लक्ष्मेश्वर यादवले उम्मेदवारी घोषणा गरेका छन्।
असोज १० गते हुने नगर अधिवेशनका लागि कमला नगरपालिका–८ निवासी यादवले सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै यादवले पार्टी संगठनलाई थप सुदृढ बनाउने, स्थानीय तहमा कांग्रेसको संगठन विस्तार गर्ने तथा कार्यकर्ताबीचको एकतालाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्।
यादव नेपाली कांग्रेसका नेता स्वर्गीय अर्जुन यादवका माइला छोरा हुन्। पारिवारिक राजनीतिक पृष्ठभूमिका यादव लामो समयदेखि कांग्रेसको स्थानीय संगठनमा सक्रिय रहँदै आएको बताइएको छ।
उनले नगरभित्र पार्टीको संगठनलाई थप प्रभावकारी बनाउँदै युवा पुस्ताको सहभागिता बढाउने आफ्नो प्राथमिकता रहेको बताएका छन्। साथै, कार्यकर्ताको भावना र सुझावलाई समेटेर पार्टीलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
नगर अधिवेशन नजिकिँदै गर्दा कमला नगरपालिकामा सभापति पदका आकांक्षीहरूबीच प्रतिस्पर्धा बढ्ने देखिएको छ। अधिवेशनबाट नगर सभापतिसहित नयाँ नगर कार्यसमिति चयन हुनेछ।
यादवले आफ्नो उम्मेदवारीलाई संगठन सुदृढीकरण र कार्यकर्ताबीचको एकतालाई प्राथमिकता दिने अभियानका रूपमा प्रस्तुत गरेका छन्।
प्रकाशित मिति: २०२६-०९-२४ , समय : ००:१७:१४ , ३ घन्टा अगाडि