जनकपुर अस्पतालमा चिकित्सकमाथि हातपात, दुई जना प्रहरी नियन्त्रणमा

नयाँ आशा एफएम ,

www.nayaasha.com

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरको बर्थिङ सेन्टरमा कार्यरत चिकित्सकमाथि हातपात गरेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार २०८३ असोज ९ गते साँझ करिब ६ः३० बजे जनकपुरधाम उपमहानगरपालिका वडा नं.१० स्थित रहेका मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल जनकपुरधामको बर्थिङ सेन्टरमा बर्थिङका लागि आएकी महिलाका आफन्तहरूले कार्यरत चिकित्सक डा. सरोज साहलाई हातपात गरेको सूचना प्राप्त भएको थियो।

सूचना प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेको आरोपमा औरही गाउँपालिकावडा नं.२ का २० वर्षीय विजय मुखिया र जनकपुरधाम उपमहानगरपालिका वडा नं.६ का २६ वर्षीय सुधिरा मुखियालाई तत्काल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

उनीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ३(ग) बमोजिम अनुसन्धानका लागि धनुषा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत पहिचान गरी खोजतलास भइरहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार उक्त कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको छ।

प्रकाशित मिति: २०२६-०९-२१ , समय : १५:४४:५३ , ३ घन्टा अगाडि