अर्थमन्त्री वाग्ले भारत भ्रमणका क्रममा व्यापार र कनेक्टिभिटीमा छलफल

नयाँ आशा एफएम ,

www.nayaasha.com

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत भ्रमणमा रहेका बेला नेपाल–भारतबीच व्यापार, पारवहन र आर्थिक सहकार्यका विषयमा छलफल तीव्र भएको छ। वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गरिसकेका छन्।

यसैबीच नयाँ दिल्लीमा सेप्टेम्बर १६ र १७ मा बसेको भारत–नेपाल अन्तरसरकारी उपसमितिको बैठकमा बजार पहुँच, भन्सार सहजीकरण, खाद्य सुरक्षा, औषधि, मेडिकल उपकरण तथा आयुर्वेदजन्य उत्पादनको व्यापारबारे छलफल भएको छ।

बैठकमा रेल तथा सडक कनेक्टिभिटी, एकीकृत जाँच चौकी, स्थल बन्दरगाह र मालवाहक आवागमन सहज बनाउने विषय पनि उठाइएको थियो। भन्सार प्रक्रियाको डिजिटलाइजेसन, विद्युतीय रूपमा उत्पत्तिको प्रमाणपत्र प्रमाणीकरण तथा पूर्वआगमन सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउने विषयमा समेत दुवै पक्षबीच छलफल भएको छ।

नेपालका अर्थमन्त्री वाग्ले र भारतीय अर्थमन्त्री सीतारमणबीचको भेटमा भने द्विपक्षीय आर्थिक सम्बन्धसँगै नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा भारतको सहयोग बारे छलफल भएको छ।

वाग्लेले भारतले उपलब्ध गराएको राहत, उद्धार तथा प्राविधिक सहयोगका लागि धन्यवाद दिएका थिए। दुवै अर्थमन्त्रीले नेपाल–भारत व्यापार तथा आर्थिक साझेदारीलाई थप सुदृढ बनाउन पूर्वाधार र सीमापार कनेक्टिभिटीमा सहकार्य बढाउने विषयमा पनि छलफल गरेका छन्।

अर्थमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेपछि वाग्लेको यो पहिलो औपचारिक भारत भ्रमण हो। तीनदिने भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग समेत भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रकाशित मिति: २०२६-०९-१८ , समय : १५:२५:४३ , ३ घन्टा अगाडि