पत्रकार र प्रहरीबीच समन्वय सुदृढ बनाउन धनुषामा परिचयात्मक तथा भेटघाट कार्यक्रम

पुरुषोत्तम यादव ,

www.nayaasha.com

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लामा क्रियाशील पत्रकार महासंघका पदाधिकारी तथा सञ्चारकर्मीसँग परिचयात्मक तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाको आयोजनामा सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काले सहभागी पत्रकारहरूसँग परिचय आदानप्रदान गर्दै जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलगायतका विषयमा प्रभावकारी कार्यसम्पादनका लागि प्रहरी सक्रिय रहेको जानकारी दिए।

कार्यक्रममा एसपी खड्काले समाजमा हुने विभिन्न किसिमका अपराध नियन्त्रण तथा सामाजिक विकृति न्यूनीकरणका लागि प्रहरी र सञ्चार क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै सञ्चारकर्मीहरूको सहयोगको अपेक्षा व्यक्त गरे।

प्रहरी र सरोकारवाला निकायबीच समन्वय तथा सहकार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आयोजित कार्यक्रममा शान्ति सुरक्षा कायम गर्न प्रहरी र लोकतन्त्रको चौथो अंगका रूपमा रहेका सञ्चारकर्मीबीचको भूमिकाबारे छलफल गरिएको थियो।

सहभागी पत्रकारहरूले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा जनचेतनामूलक कार्यक्रमहरूमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा पत्रकार र प्रहरीबीच अनुभव आदानप्रदान हुनुका साथै समसामयिक सुरक्षा चुनौतीका विषयमा समेत छलफल भएको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने पत्रकार महासंघका पदाधिकारी, सञ्चारकर्मी तथा सहभागी सबैप्रति धन्यवाद व्यक्त गरेको छ।

प्रकाशित मिति: २०२६-०६-०७ , समय : २३:३२:४० , ३ घन्टा अगाडि