विश्वविद्यालयमा चरम राजनीतिक हस्तक्षेप छ-बिपी साहित्य महोत्सवमा केदारभक्त माथेमाले भने

Naya Aasha ,

काठमाडौं: त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुने गरेको बताएका छन्।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा बुधबार आयोजित बिपी साहित्य महोत्सवमा माथेमाले केही वर्षदेखि विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप चरम देखा परेको बताएका हुन्।

‘बिपीले सिर्जनशीलता र नवीन शिक्षा एवं सबैका लागि शिक्षा, हस्तक्षेपरहित र स्वतन्त्र शिक्षा संस्थाको कल्पना गर्नुभएको थियो,’ माथेमाले भने, ‘हाल नेपालका विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप चरम रूपमा छ।’

उपकुलपति र पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा र हस्तक्षेप हुने गरेको उनको भनाइ छ। उनले विद्याविद्यालय राजनीतिक हस्तक्षेपले भताभुंग भएको बताए। ‘परीक्षा दिएर उत्तीर्ण हुने र जागिर खानका लागि मात्र शिक्षा प्रदान गर्ने प्रणालीको सुधार आवश्यक छ,’ उनले भने।

बीपीले समानता, सामाजिक न्याय, सार्वजनिक, सहज, समान अवसर र व्यवहारिकतामा आधारित शिक्षाको कल्पना गरेको उनले बताए।

शिक्षालाई विद्यार्थीले एउटा शैक्षिक तह उतिर्ण गर्ने माध्यम, अभिभावकले रोजगार प्राप्त गर्ने साधन, समाजले बौद्धिक र समाजअनूकुलको माध्यमको रुपमा लिने गरेको उनको भनाइ छ।

‘राजनेताले शिक्षालाई समाज बदल्ने साधनको रुपमा लिन्छ। बिपी त्यही राजनेता हुनुहुन्थ्यो’, उनले भने।

नेपालसहित दक्षिण एसियाली मुलुकमा शिक्षामा अधिक व्यापारीकरण हुने गरेको भन्दै माथेमाले नेपालका सन्तानलाई शिक्षाको लागि अभिभावकहरुले जीवनभर कमाएको आम्दानीको ५० प्रतिशतसम्म खर्च गर्ने गरेको बताए। ‘शिक्षामा अधिक लगानी गर्नु पर्दा स्रोत जुटाउनकै लागि नेपालमा भ्रष्टाचार हुने एउटा कारण हो,’ उनले भने।

प्रकाशित मिति: २०२३-०९-२० , समय : १६:१५:५४ , १ वर्ष अगाडि