नयाँ आशा एफएम ,

जनकपुरधाम । रौतहटका कटहरिया नगरपालिका–५ निवासी ३० वर्षीय पत्रकार रबिन्द्र प्रजापति शनिबार राति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। सिकिस्त अवस्थामा उद्धार गरिएका प्रजापतीलाई परिवारले स्थानीय स्वास्थ्य चौकी र त्यसपछि गरुडा स्थित ग्राण्डी अस्पताल पुर्याए पनि राति १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। उनी कटहरिया म्यूजिकल एफएममा कार्यरत थिए।
प्रहरीको प्रारम्भिक अनुमानमा प्रजापति केही समयदेखि पारिवारिक तनावमा रहेका र सोही कारण आत्महत्या गरेको हुन सक्ने उल्लेख गरिएको छ। साथै, जेठको अन्तिम साता समाचारका कारण कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालबाट उनले धम्की पाएको विषय पनि अनुसन्धानको दायरामा रहेको जनाइएको छ। यद्यपि, सो विवाद टुंगिएको प्रहरीको भनाइ छ। उनको शव अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ भने जिल्ला प्रहरी कार्यालयले घटनाबारे थप अनुसन्धान गरिरहेको छ
प्रकाशित मिति: २०२५-०७-२० , समय : १२:४५:१७ , १ हप्ता अगाडि