किशोर किशोरीको लागि समावेशी अभियान: प्रदेश किशोर सञ्जालको नयाँ कार्यकालको लागि आवेदन खुल्यो

कुमार पंकज ,

जनकपुरधाम,१९ गते । लैङ्गिक हिंसा अन्त्य र लैङ्गिक समानताको स्थापनाका लागि किशोरहरूको सहभागिता आवश्यक छ भन्ने उद्देश्यका साथ २०७८ सालमा स्थापना भएको राष्ट्रिय किशोर सञ्जाल नेपालले पुनः नयाँ कार्यकालका लागि आवेदन खुलाएको छ।

राष्ट्रिय किशोर सञ्जाल नेपालले किशोर-किशोरीका अधिकार, लैङ्गिक समानता, बालअधिकार, र किशोरीहरूसँग सहकार्यलाई आफ्नो प्राथमिकतामा राख्दै देशभर विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसले किशोरहरूको क्षमता विकास, जीवन उपयोगी सीप, यौन तथा प्रजनन अधिकार, मानसिक स्वास्थ्य, जलवायु न्याय, अनलाइन सुरक्षा, र बालविवाह न्यूनीकरणका विषयमा तालिम, अन्तरक्रिया, कार्यशाला, र गोष्ठीहरूमार्फत जनचेतना फैलाउने प्रयास गरिरहेको छ।

विशेषगरी, पछिल्लो समय बालकहरूमा हुने लैङ्गिक हिंसा र दुर्व्यवहारलाई उजागर गर्दै “बालक पनि बलात्कृत हुन्छन्” भन्ने सन्देशका साथ सञ्जालले सशक्त अभियानको नेतृत्व गरिरहेको छ। यस अभियान अन्तर्गत किशोरहरूको समस्या सम्बोधन गर्दै उनीहरूका हकहितको वकालत गरिन्छ।

नेपालभरका सातवटा प्रदेशबाट किशोरहरूको समावेशी र अर्थपूर्ण सहभागितालाई प्रोत्साहित गर्न २३ जनाको केन्द्रीय कार्यसमिति गठन गरिसकिएको छ भने सातवटै प्रदेशमा प्रदेश किशोर सञ्जालहरू पनि स्थापना गरिएका छन्। प्रदेश सञ्जालहरूको मुख्य उद्देश्य बालबालिका र किशोर-किशोरीका अधिकार र आवाजलाई सुनिश्चित गर्दै राष्ट्रिय किशोर सञ्जाललाई थप सशक्त बनाउनु हो। साथै, प्रदेश किशोर सञ्जालले नेपाल सरकार तथा अन्य संघसंस्थासँग मिलेर नयाँ ज्ञान आर्जन र अधिकारप्रतिको सचेतना अभिवृद्धिमा भूमिका खेलिरहेको छ।

नयाँ कार्यकालका लागि आवेदन दिन चाहने किशोरहरूले निम्न शर्तहरू पूरा गर्नुपर्नेछ:

१) उमेर १० देखि १७ वर्षको हुनु पर्नेछ।

२) बालअधिकार तथा किशोर-किशोरीका अधिकारका क्षेत्रमा काम गर्न इच्छुक हुनु पर्नेछ।

३) आफ्नो अध्ययनको अतिरिक्त समय बालबालिका तथा किशोर-किशोरीको हितका लागि दिन सक्ने क्षमता हुनु पर्नेछ।

४) बालक्लब वा अन्य सञ्जालसँग आबद्ध तथा बालबालिका तथा किशोरहरूको हकहितका क्षेत्रमा सक्रिय रूपमा वकालत गर्ने किशोरहरूलाई प्राथमिकता दिइने छ।आवेदन दिनको लागि तल दिएको लिङ्कमा क्लिक गरेर आवेदन दिन सकिन्छ ।

https://forms.gle/bnvRGvmRmpNWdiXP8

किशोरहरूको सक्रियताले देशव्यापी रूपमा आवाज उठाउन र नीतिगत बहसहरूमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने विश्वासका साथ यो आवेदन आह्वान गरिएको हो।

प्रकाशित मिति: २०२४-११-०४ , समय : २१:४७:५७ , १ महिना अगाडि