Naya Aasha ,
जनकपुरधाम : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्।
उनलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ ग्रहण गराउनेछन्।
मुख्यमन्त्रीको सपथ ग्रहणका लागि आज दिउँसो २ बजेको प्रदेश प्रमुखको कार्यालयमा विशेष समारोह राखिएको कार्यालयका प्रवक्ता रामकुमार श्रेष्ठले जानकारी दिए।
आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने मुख्यमन्त्रीको तयारी छ।
कार्की एमाले र कांग्रेसको शेखर कोइराला पक्षका सांसदहरूको समर्थनमा शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए।
उनी नेतृत्वको सरकार संविधानको धारा १६८(५) अनुसारको हो। कार्कीले अबको १ महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। उनले विश्वासको मत पाउन नसके कोशीमा मध्यावधि हुनेछ।
सत्ता गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको निर्णयको विरूद्धमा गइ कार्कीले मुख्यमन्त्रीमा दाबी गर्दा उनलाई एमालेले साथ दिएको थियो।
यसबाट सत्ता गठबन्धनमा फुट निम्तने आकलन गरिएपनि शनिबार नै कांग्रेस सभापति शेरबहादुर देउवा र नेता शशांक कोइरालाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी गठबन्धन एक रहेको सन्देश दिएका थिए।
लगत्तै चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले कार्की गठबन्धनको पनि मुख्यमन्त्री रहेको बताएका थिए।
केन्द्रीय नेताहरुले सहमति गरेपनि प्रदेशमा कार्कीसँग माओवादी रुष्ट छ। माओवादी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बो मुख्यमन्त्री बन्नबाट बञ्चित भएका थिए।
प्रकाशित मिति: २०२३-१०-१५ , समय : १०:१८:४४ , १ वर्ष अगाडि