Naya Aasha ,
काठमाडौँ :नेपाली कांग्रेसले सांसदहरुलाई शिक्षा विधेयकमा भएका व्यवस्थाहरुबारे सांसदहरुलाई जानकारी गराउने भएको छ । सरकारले विद्यालय शिक्षा सम्बन्धी विधेयकको मस्यौदा तयार गरी संसद्मा पेस गरेको छ । तर विधेयकका विषयमा शिक्षकहरुसहित सरोकारवालाहरु भने असन्तुष्टि पोखिरहेका छन् ।
प्रमुख सत्तारुढ दल कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरुले विधेयकका व्यवस्थाहरुमाथि जिज्ञासा राखेपछि प्रमुख सचेतक रमेश लेखकले संसदीय दलको कार्यालयले विधेयकका विषयमा सांसद र नेताहरुलाई जानकारी गराउन अलग्गै कार्यक्रम आयोजना गरेको बताए ।
‘शिक्षा विधेयक संसद्मा पेश भएको छ। विधेयकमा भएका व्यवस्थाहरुबारे हामीले पार्टीका नेता र सांसदहरुलाई जानकारी दिने कार्यक्रमको तयारी गरेका छौँ,’ उनले भने, ‘बानेश्वरस्थित संसद् भवनको हलमा असोज ८ र ९ गते त्यसबारे जानकारी गराउने कार्यक्रम छ ।’
उनले सो कार्यक्रमको सन्दर्भमा दलको बैठक बस्ने र शिक्षा विधेयकसहित समसामयिक कानूनहरुका विषयमा जानकारी गराइने बताए ।
बिहीबारदेखि जारी बैठकमा नेताहरुले विधेयकका विषयमा जिज्ञासा राखिरहेका छन् भने असन्तुष्ट आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन गर्न सरकारले ढिला गर्न नहुने सुझाव राखिरहेका छन् ।
प्रकाशित मिति: २०२३-०९-२२ , समय : १५:२५:४६ , १ वर्ष अगाडि